आज हरिशयनी एकादशी
Siddhashram Shakti Kendra
2 years ago

     आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरू व्रत बस्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् । पुराणहरूका मतानुसार भगवान् विष्णु यस दिनदेखि चार महिनासम्म (चतुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् ।

यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ । एकादशीका दिन प्रातःकाल उठेर घरको सफाई तथा नित्य कर्मबाट निवृत्त भइन्छ । स्नान गरेर पवित्र जल घरमा छर्कने, घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पित्तलको मूर्ति स्थापना गर्ने, त्यसपछि उहाँको षोडशोपचार विधिले पूजन गर्ने र त्यसपछि भगवान् विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने र व्रत कथा सुन्ने गरिन्छ ।

आरती गरेर प्रसाद वितरण गरेर अन्तमा सेतो चादरले ढाकेको गद्दा (तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउने गरिन्छ । व्यक्तिलाई यी चार महिनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने गरिन्छ । देह शुद्धि वा सुन्दरताको लागि परिमित प्रमाणको पञ्च गव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

     आजको दिन मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र–पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिको लागि तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुन सक्छ गरिन्न । खाटमा सुत्ने, भार्यासँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही–भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नु पर्छ ।

Share Tweet