आज बुद्ध जयन्ती
Siddhashram Shakti Kendra
3 years ago

     आजभन्दा २५६५ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा भएको थियो । शाक्य वंशको राजकुलमा जन्मनुभएका सिद्धार्थ गौतम सानै उमेरदेखि दया, करूणा र स्नेहका धनी हुनुहुन्थ्यो । माता मायादेवी उहाँलाई जन्माएको सातौँ दिनमा दिवंगत हुनु भएपछि सिद्धार्थ गौतमको लालन पालन उहाँकी सानी आमाबाट भयो । पछि उनीले राजा शुद्धोधनसँग विवाह गरिन् ।

जन्मनासाथ ज्योतिषहरूबाट उहाँका बारेमा शुभ भविष्यवाणी भएको थियो, उहाँ एकान्तमा बसेर मानिसले जीवनमा झेल्नुपर्ने रोग, वृद्धावस्था र मृत्युबारे सोचिरहनु हुन्थ्यो । यी समस्याहरूको समाधानका उपाय सोच्दासोच्दै उहाँ आफैमा हराउनुहुन्थ्यो । सिद्धार्थ गौतमको यस्तो अवस्था उहाँका अविभावकलाई मन नपर्नु स्वभाविक नै थियो ।

सुख प्राप्तिको लागि शील, समाधि र प्रज्ञा नितान्त आवश्यक छन् । यी तीन योगहरूबाट पोख्त व्यक्तिलाई मृत्युपछिको मुक्ति अथवा निर्वाणको कुनै आवश्यकता हुँदैन किनकि यस्ता त्रियोगमा दत्तचित्त व्यक्तिको लागि सदासर्वदा मुक्तिको ढोका खुला रहन्छ ।

     बुद्ध धर्मको सिद्धान्तअनुसार पञ्चमहाभूतबाट यो सृष्टिको रचना भएको हो र सृष्टिका सम्पूर्ण पदार्थ क्षणभङ्गुर अर्थात् नाशवान् छन् । यसमा आसक्ति (मोह) राख्नु नै दुःखको कारण हो । मानिसका मनमा प्रत्येक पल स्फुरण भइरहने उत्कट इच्छाहरूलाई दमन गर्नु नै दुःख निवारण र निर्वाण प्राप्तिको सरल उपाय बताउने बुद्धका सैद्धान्तिक कुराहरूलाई व्यवहारमा लागू गर्न सकेमा मानव महामानव बन्ने कुरामा दुईमत छैन ।

Share Tweet